काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) तथा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका २७ सहित ३० बढी जलविद्युत् आयोजनाको निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ ।
नेपाल धितोपत्र बोर्डमा रमेशकुमार हमाल अध्यक्ष हुँदादेखि नै रोकिएको सेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म ठप्प भएको हो । लामो समयसम्म आयोजनाले सेयर निष्कासन गर्न नपाउँदा निर्माणमै असर परेको प्रवर्द्धकले बताएका छन् ।
गत आर्थिक वर्षमा ४२ कम्पनीको आईपीओ जारी भएकोमा २९ वटा जलविद्युत् कम्पनी थिए । तर चालु आर्थिक वर्षमा भने एउटा (भदौ ५ गते भिजन लुम्बिनी ऊर्जा) कम्पनीबाहेक निष्कासन भएको छैन ।
अहिले एउटा सोलार सहित १८ वटा विद्युत उत्पादन कम्पनीले आइपीओ निष्कासनका लागि अनुमति माग गर्दै बोर्डमा निवेदन दिएका छन् । अरु ४/५ वटा कम्पनी आवेदनका लागि तयारी अवस्थामा छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले निष्कासनको अनुमति नपाउँदा अरु कम्पनीहरु पनि आवेदन दिन नसकेको बताए ।