काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्च सम्याउन सुरु गरेको छ । महानगरले खुलामञ्च सम्याउन लेभलिङ र ग्रेडिङको काम थालेको हो ।
खुलामञ्चलाई खेलमैदान बनाउने तयारीपछि महानगरको चर्को आलोचना हुँदै आएको थियो । आलोचनापछि महानगरले खेल मैदान र खुला स्थान दुवै हुने गरी काम गर्न लागेको दाबी गर्दै आएको छ । खुलामञ्चको जमिन सतह बराबर गर्न पूर्वाधार कम्पनीसँग सम्झौता समेत गरिसकेको छ । महानगर स्रोतका अनुसार करिब ११ लाखमा सम्झौता भएको छ ।
सम्झौताअनुसार कम्पनीले सोमबारदेखि काम सुरु गरेको महानगरका सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले जानकारी दिए । खुलामञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ । सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यकाअनुसार जेठ मसान्तभित्र काम सकिनेछ । यसपछि बर्खाको पानी भेल भएर नबग्ने विश्वास महानगरको छ । महानगरले खुलामञ्चमा रहेको सबै भौतिक संरचना हटाएर गत माघमा दैनिक ५० जना जनशक्ति परिचालन गरेर ढुंगा टिपेको थियो । काठमाडौं टावर निर्माण थालिएपछि त्यहाँ भएको बसपार्क खुलामञ्चको रत्नपार्कतर्फ खण्डमा बारेर बसपार्क सञ्चालन गरिएको थियो ।
२०७२ सालको महाभूकम्पपछि वीर अस्पताल र दरबार हाइस्कुल पुनर्निर्माणका लागि निर्माण सामग्री राख्ने तथा जनशक्ति बस्ने ठाउँका रूपमा विकास गरिएको थियो ।महानगरले खुलामञ्च सर्वसाधरणका लागि खुला गर्ने भन्दै खेल मैदान बनाउने तयारी गरेपछि ‘मुक्त टुँडिखेल’ लगायत अभियान्ताहरुले विरोध जनाएको थिए ।
विरोधपछि खुलामञ्चमा कुनै पनि भौतिक संरचना निर्माण नगरी खेल्न र बस्न मिल्ने गरी चउर निर्माण अघि बढाउने स्पष्टीकरण मेयर बालेन साहले दिएका थिए ।महानगरले मौलिक दुबो राप्ने भनेको छ । तर अस्थायी गोलपोस्ट राख्ने योजना भने कायमै रहेको एक कर्मचारी बताउँछन् ।
‘अहिले सम्याएर मुख्यतः पानी बग्न नदिने र खेल्दा पनि सजिलो होस् भनेर पनि हो । नट एन्ड बोल्ट सिस्टमको गोलपोस्ट राखेर खेल मैदान बनाउने योजना हटेको छैन । बिहान बेलुका खेलकुद हुन्छ, दिउँसो खुला रुपमा छोड्ने योजना छ,’ महानगरका एक कर्मचारीले भने ।